चितवन । भरतपुर महानगरपालिका–४ अन्तर्गत धारापानी टोलमा रहेको ऐतिहासिक तीनधाराको संरक्षण, प्रवर्द्धन र प्रचार प्रसार गर्ने उद्देश्यले धारापानी महिला समूहले तीज गीतको माध्यमबाट सन्देशमूलक सांस्कृतिक प्रस्तुति दिएका छन्।
तीनधाराको चौतारीमा आयोजित कार्यक्रममा करिब ४० जना महिला सदस्यहरुले संयुक्त रुपमा तीज गीत गाएर तीनधाराको ऐतिहासिकता, सांस्कृतिक महत्व र संरक्षणको आवश्यकता प्रस्तुत गरेका हुन्। कार्यक्रममा छिमेकी टोलवासी, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
महिला समूहले तयार पारेको गीतमा तीनधाराको उत्पत्ति, पुराना पुस्ताहरुको योगदान, वर्तमान पुस्ताको जिम्मेवारी, पर्यावरणीय सन्देश, स्थानीय एकता र विकास योजनासँगको समन्वयलाई सुन्दर लयमा प्रस्तुत गरीएको छ। गीतको शब्द संयोजन समूहकी सह-सचिव गीता शर्माले गरेकी हुन्।
उनका अनुसार धारापानी टोल विकास संस्था अन्तर्गत रहेको यस प्राकृतिक पानीको मुहान साविक वडा नं ५ अन्तर्गतको समयदेखि नै स्थानीय पुस्ताको सतत संरक्षणमा अडिएको छ। तीज गीतको माध्यमबाट अब यसको प्रचार-प्रसार गर्दै भविष्यमा यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिइएको हो।
गीतमा धारापानी मूल संरक्षण समिति, धारापानी टोल विकास संस्था, हालको उपभोवता समिति, वडा कार्यालय, प्रदेश, महानगरपालिका, वे ग्रुप, ग्रुप फर सोसलको योगदानप्रति कृतज्ञता प्रकट गरिएको छ
गीतको अन्तिम हरफमा धारापानी महिला समूहले सबैलाई संरक्षणमा हातेमालो गर्न आग्रह गर्दै टोल भ्रमणका लागि आमन्त्रण गरेका छन्।
तीज गीतको पुर्ण भाग यहाँ प्रस्तुत गरिएको छ भने गीतको शब्द संयोजन महिला समुहकी गीता शर्माको रहेको छ !
१. हेर दिदि वहिनीहरु तिज आउने बेला भो-२
गरौ वयान हाम्रै मुहान धारापानीको ।।-३
२. भरतपुर ४ भित्रको एतिहासिक शान हो-2
धारापानी पार्क सहित पानी मुहानको ।-3
३. प्राचिन शैली परम्परा झल्किएको राम्रो हो ।-2
पानी मुहान जोगाई राख्ने काम हाम्रो हो ।-3
४. बाग्लुङबाट वसाइसरी पुर्खाहरु आएका ।-२
पानी मुहान संरक्षणमा लागि परेका ।।-३
५. हजुरबाले मुहान देखे सुम्पे पानी छोरालाई २
सरक्षण गर्ने जिम्मा नाति पुस्तालाई ।।३
६. वर, पिपल स्वामीले अझै पानी पलाउँछ । २
हरियाली पार्कले सान बढाउछ । ३
७. फेरिदैछ एतिहासिक धारापानी मुहान २
वन्दै छ है हरियाली खोला किनार ।। ३
८. घामको ताप छेक्नलाई धारापानी गइन्छ । २
तराईमा यस्तो मुहान कहाँ पाइन्छ । ३
९. वारी पारी वस्ती वसे यही पानीलाई देखेर २
राख्नुपर्छ इतिहास नाम लेखेर ।। २
१०. पैदलपथ र लंकु खोला अझै शोभा बढाउने -२
वर पिपलको पूजा गर्दै फुल चढाउने ।।-३
११. शुद्दता र स्वच्छ पानी मुहानको गहना
त्यसै माथि क्रियापुत्री बन्यो भवन ।।
१२. मनकारी दानविरहरुले सहयोग गर्न थालेका
मुहानमा आकर्षक धारा ल्याएका ।।
१३. दिन दिन टोलवासीले श्रमदान गर्दैछन
मुहानको मुहार फेर्न कम्मर कसेछन् ।
१४. प्रदेश हुँदै वडाको विकास बजेट आएको
मुहानको सौन्दर्यमा निखार आएको । ।
१५. पालिकाको योजनामा वे ग्रुपको साथ पनि
टोल विकास र समितिको छ है हात पनि ।।
१६. भरतपुरका मेयरसावले हाम्रो कुरा सुन्दिनु
धारापानी मुहानलाई बजेट पार्दिनु ।
१७. भविष्यमा पार्क वन्छ अनि मन्दिर चौतारी
हासि खेली दिन विताउने हामी दौतरी ।।
१८. धारापानी महिला समूह संरक्षणमा जुटेको
सरसफाईको अभियानमा अघि सरेको ।।
१९. मुहानको महिमा भन्यौ तिजको लयमा -२
टोल वासी स्वागत गर्छौ घुम्न आएमा-३
२०. रितिरिवाज परम्परा जोगाउँदै संस्कार-२
यति भन्दै विदा हुन्छौ हस्त नमस्कार ।।। – ५











