काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ ।
बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो ।
कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।
कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् । सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेकी छन् ।














