काठमाडौँ । नेपालमा कोभिडको नयाँ भेरियन्टको जोखिम उच्च रहेकोले सजग हुन सर्वसाधारणलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहेको मन्त्रालयले जानकारी दिएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आम जनसमुदाय सजग एवं सचेत हुन जरुरी छ ।’












