काठमाडौं । वर्षायाममा गाईभैँसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ ।
दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुर्याएको यो रोग कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ । दुई वर्षअघि महामारीकै रूप धारण गरेको ‘लम्पी स्किन’ अघिल्लो वर्ष भने कम थियो । यस वर्ष कोशी प्रदेशको झापामा देखिएको सो सङ्क्रमण सो प्रदेशका सबै जिल्लामा पुगेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, दुई वर्षअघिको ‘लम्पी स्किन’ को सङ्क्रमणपछि जन्मिएका गाईका बाच्छाबाच्छीमा यो समस्या धेरै देखिएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डा देवकुमार दर्लामीले जानकारी दिए । उनले ‘लम्पी स्किन’ देखिनेबित्तिकै हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सङ्घीय सरकारलाई जानकारी गराएको र स्थानीय तहसँग समन्वय गरेको बताए ।
एक वर्षअघि ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन किसान र सरकारी संयन्त्रले ध्यान नदिँदा यस वर्ष धेरै फैलिएको उनले उल्लेख गरे । सङ्क्रमण देखिएपछि पशुको ओसारपसारमा निगरानी राखेको र सरसफाइमा ध्यान दिन र खोप लगाउने कार्यमा प्रोत्साहन गर्न मन्त्रालयले काम गरिरहेको उनले स्पष्ट पारे । सङ्क्रमित पशुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन नमिल्ने र स्वस्थ पशुलाई मात्रै लगाउनुपर्ने भएकाले एकै पटक ठुलो सङ्ख्यामा खोप लगाउन आवश्यक रहेको उनले बताए ।
कोशीमा झापा, इलाम, मोरङ र सुनसरीमा अरू जिल्लाभन्दा धेरै सङ्क्रमित रहेको र अरू जिल्लामा कम रहेको उनले बताए । त्यसबाहेक बागमती प्रदेशको चितवन र धादिङ, मधेशको बारा, कर्णालीको रुकुमपश्चिममा सङ्क्रमण देखिएको छ ।
पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ । वर्षाको समयमा सबैभन्दा धेरै ‘लम्पी स्किन’ को सङ्क्रमण देखिने भएकाले विभागले खोप सात वटा नै प्रदेशमा पठाएको छ । पशुसेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले खरिद भएको १४ लाख ६० हजार डोज खोपमध्ये १० लाख सात वटा नै प्रदेशमा पठाएको जानकारी दिए । चार लाख डोज खोप भने केन्द्रमा नै राखिएको छ । हालसम्म प्रदेशमा पठाएको कुल खोपमध्ये आधा खोप पनि पशुलाई लगाइएको छैन ।











