चितवन । शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै अरोमा कलेजका विद्यार्थी आन्दोलित भएका छन् । कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीले ल्याबमा सिकाउने क्रममा छात्राहरुको संवेदनशिल अंगमा छुने गरेको भन्दै विद्यार्थीहरु आज आन्दोलित भएका हुन् ।
यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कलेजबाट निकाल्न माग गर्दा पनि कलेजले ननिकालेपछि आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले बताएका छन् ।
आन्दोलित विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेपछि आइतबार यो घटना बाहिर आएको हो ।
विद्यार्थीले कलेज बस, कलेजको झ्यालका सिसा, ब्यानर र कम्प्युटर ल्याबमा तोडफोड गरेका छन् । विद्यार्थीले बालमन्दिर रोडस्थित प्रशासनिक भवन र स्याउलीबजार स्थित ल्याब भएको भवन अगाडि अगाडि ब्यानर र टायर जलाएर विरोध प्रदर्शन पनि गरे ।
विद्यार्थीका अनुसार ती शिक्षकले अन्य छात्राहरुमाथि पनि यौन दुर्व्यवहार गर्थे ।
कक्षा ११ मा अध्ययनरत छात्रा निलम मगरले भनिन्, ‘कम्प्युटर साइन्सका धेरै विद्यार्थीलाई ती शिक्षकले ह्यारेसमेन्ट गरेका छन् । घटना पटक–पटक दोहोरिएपछि यो अवस्था आएको हो ।’ प्रहरीले शिक्षक सुवेदीलाई कलेजबाटै नियन्त्रणमा लिएको हो । कलेजले भने ती शिक्षकलाई आइतबार नै जागिरबाट निकालेको दाबी गरेको छ ।















