भरतपुर । भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा साँझपख हुँदै आएको महाआरतीलाई साउण्ड सिस्टमका सामाग्री सहयोग गरेको छ ।
सनातन संस्कृति, परम्परा र मूल्यमान्यता रक्षाका लागि गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले विगत छ वर्षदेखि नारायणी नदी किनारमा आरती गर्दै आएको छ ।
भरतपुर महानगरपालिकाको जिन्सी शाखा प्रमुख झलककुमार श्रेष्ठले साउण्ड सिस्टमका सामाग्रीहरु परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजलाई आइतबार हस्तान्तरण गरेका हुन् । यी सामाग्रीले आरती सञ्चालनलाई सहज बनाउने भारद्धाजले विश्वास व्यक्त गरे ।
गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले सातौँ वर्षको अखण्ड आरती सञ्चालनपछि पहिलो पटक सरकारी निकायबाट जिन्सी सहयोग प्राप्त गरेको भारद्धाजले बताए । ‘गण्डकी नारायणी महाआरतीले साउण्ड सिस्टमका सामाग्रीहरु प्राप्त गरेको छ । भरतपुर महानगरपालिका मेयर रेनु दाहाल लगायत महानगर परिवारप्रति हामी आभार व्यक्त गर्न चाहान्छौँ’, उनले भने ।
नारायणी नदी किनारमा २०७६ वैशाख १ गतेदेखि गण्डकी नारायणी महाआरती अखण्ड रुपमा सञ्चालन हुँदै आएको छ । दाता र भक्तले गरेको सहयोगबाटै आरती सञ्चालन हुँदै आएके उनले जानकारी दिए ।












