काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने औपचारिक निर्णय नगर्दै एमालेभित्र हलचल पैदा भएको छ। भण्डारी हालै चीन भ्रमणबाट फर्केर आएपछि एमालेमा हलचल उत्पन्न भएको हो।
राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष थिइन्। एमाले नेताकै हैसियतमा उनी चीन भ्रमणमा गएकी हुन्। एमालेभित्रको एउटा पंक्ति भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउनुपर्ने पक्षमा छ।
आजको नागरिक दैनिकमा समाचार छ, चीन भ्रमणबाट फर्केकी भण्डारी अहिले पूर्वी नेपालका झापा, मोरङलगायतका जिल्ला भ्रमणमा छिन्। भण्डारी पूर्वी नेपालको भ्रमणमा रहेकै बेला यता काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीव्र असन्तुष्टि पोखेका छन्। भण्डारीले जिल्लामा एमालेका नेता–कार्यकर्तासँग गरिरहेको भेटघाटप्रति अध्यक्ष ओली असन्तुष्ट देखिएका हुन्।
ओलीले आइतबार पार्टीका नेता–कार्यकर्तालाई भण्डारीको पक्षमा नखुल्न चेतावनीपूर्ण भाषा प्रयोग गरे। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी महाधिवेशनबारे धारणा राख्दै विद्याको पक्षमा नखुल्न नेता–कार्यकर्तालाई अघोषित चेतावनी दिए।
ओलीले पार्टी महाधिवेशन आइनसकेको र पार्टीबाहिरबाट ढुंगा नहान्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए। ‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ ओलीले भण्डारीको राजनीतिक भेटघाटलाई लक्षित गर्दै भने, ‘पार्टीमा यस्तो कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’
उनले महाधिवेशन मिति घोषणा भइनसक्दै सरसल्लाह नै नगरी बाहिर हल्ला चलाएको भन्दै आक्रोश पोखे। उनले भने, ‘महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन, छलफल भएको छैन।’ यस्ता बाहिरी हल्ला चलाएर पार्टी कमजोर पार्न खोजे सह्य नहुने उनको चेतावनी थियो। ‘अनि यो बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने, यस्ता दुष्प्रयासलाई तपाईंहरू सोझै जवाफ दिनुस्,’ ओलीले भने।












