चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ गाईघाटमा दुई वटा ट्रक आपसमा ठोक्किएका छन् ।
आज बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुवै ट्रकका चालकसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ट्रक चालकहरुलाई च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर–१२ मुनालचोक बस्ने वर्ष ३७ को सन्तोष सुवेदी र ना ६ ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरुडा–५ बस्ने वर्ष ३४ को धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवैको अवस्था मध्यम रहेको छ ।
ना६ख ९८९७ नम्बरको ट्रकमा सवार ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेहरुमा रौतहट बौदीमाई–७ बस्ने वर्ष २५ को जयकान्त राय यादव, वर्ष २५ को हरिशंकर यादव, वर्ष २० को आकाश यादव, वर्ष २० को रबि कुमार यादव र वर्ष १९ को अनिल कुमार यादव रहेका छन् ।












