नेपालगन्ज। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेको सरकारकै पालामा मात्रै देशमा सबैभन्दा बढी विकास भएको दाबी गरेका छन् ।
एमाले निकट नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको शनिबारदेखि नेपालगन्जमा सुरु भएको सातौँ केन्द्रीय महाधिवेशनको यहाँ उद्घाटन गर्दै महासचिव पोखरेलले विकास विरोधीले एमालेको सरकारलाई मन नपराउने भएकोले उनीहरूले सरकारका बारेमा विभिन्न भ्रम फैलाउने गरेको बताए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको एमालेको सरकारले देशमा भौतिक पूर्वाधार र अन्य विकास निर्माणमा सबैभन्दा धेरै काम गरेको जनाउँदै सरकार विरोधीले केही नभएको भन्दै झुठो प्रचार गरिरहेको बताए ।
नेकपा (एमाले)ले अल्पसङ्ख्यक मुस्लिम, मधेशी र अन्य पछाडि परेका वर्ग र समुदायको हक अधिकारका लागि सबैभन्दा बढी काम गरेको जनाउँदै महासचिव पोखरेलले मुस्लिम इत्तेहाद सङ्गठनले मुस्लिम समुदायको अगुवाई गरिरहेको पनि दाबी गरे ।
उनले एमाले र नेपाली कांग्रेसको गठबन्धन २०८४ सालसम्मै जारी रहने जनाउँदै गठबन्धन भत्काउन खोज्ने आफै भत्किएर सकिने बताए ।











