काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बनेर समाजवादी क्रान्तिको आधार तयार पार्ने दाबी गरेका छन्।
आज काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले इतिहासलाई पछाडि फर्काउन खोज्ने प्रतिगामी र यथास्थितिवादी शक्तिहरूलाई गतिलो जवाफ दिने बताए।
“हामीले सडक र सदनबाट खबरदारी गरिरहेका छौँ। आवश्यक परे ठूलो आन्दोलन गर्छौँ,” दाहालले भने। उनले सामाजिक सञ्जाल र जनतामाझ माओवादीको लोकप्रियता र सक्रियता बढेको उल्लेख गर्दै भने, “पाँच–सात महिनाअघि सामाजिक सञ्जालमा हाम्रो अवस्था कमजोर थियो, तर अहिले हामी एक नम्बरतिर उकालो लाग्दैछौँ। यसले जनमत आकर्षित गरेको छ।”
दाहालले कांग्रेस र एमालेसँग गठबन्धन नगरी २०८४ को निर्वाचनमा आफ्नै खुट्टामा उभिएर लड्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पार्टीका विभिन्न अभियान, सम्मेलन र जनसंगठनका गतिविधिले शक्ति सञ्चय भइरहेको र जनतामा आशा जागेको बताए। “हजारौँ शहीद, अपांग र घाइतेको बलिदानले प्राप्त संघीय गणतन्त्र र समावेशी उपलब्धिलाई जोगाउने जिम्मा हाम्रै हो,” उनले भने।











