काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्था परिवर्तन भएपनि जनताको जीवनस्तरमा सुधार आउन नसकेको बताएकी छन् ।
मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो वार्षिक साधारणसभाको अवसरमा आज हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको बताइन् ।
‘व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेको छैन । नागरिकको अवस्थामा अझै पनि सकारात्मक परिवर्तन आउन सकेको देखिँदैन ।’ उनले भनिन्, ‘हामी राजनीतिक परिवर्तन र संविधान बदल्न सफल भयौ । तर, जनताले सकारात्मक परिवर्तनको महसुस गर्ने गरी सामाजिक र आर्थिक रूपान्तरणको कार्यभार पुरा गर्न बाँकी छ । जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याएर पूर्व राष्ट्रपति भण्डारीले राजनीतिले नागरिकको जीवनस्तर परिवर्तन गर्नुपर्छ ।’
राजनीतिक दलहरुले समाजको आर्थिक, सामाजिक व्यवस्थाको रूपान्तरणलाई मूल लक्ष्य बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई छ । मौलिक राजनीतिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ मार्फत नागरिकको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीसहित देशलाई समाजवादको दिशातर्फ उन्मुख भइरहेको उनले बताइन् ।
२०४७ को संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपाललाई राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनले दावी गरिन् । वर्गीय विविधतायुक्त समाजमा नागरिकको हितमा काम गर्ने र सधैँ जनतासँग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्ने पूर्व राष्ट्रपति भण्डारीले बताइन् ।
फाउन्डेसनको साधारण सभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।











