चितवन । भरतपुर महानगरपालिका भित्र निषेधित क्षेत्रमा चल्ने ६५ अटोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कारबाही गरेको छ । महानगरमा सवारी दुर्घटना बढेपछि राजमार्गमा अटो चलाउन निषेध गरिएको थियो ।
राजमार्गमा अटो चालकले मनपरी तरिकाले अटो चलाउने गर्दा दुर्घटना बढेको ट्राफिकको ठम्याई छ । त्यस्तै, भरतपुरमा सडक क्षमताभन्दा बढी अटो भित्रिएकोले राजमार्गमा निषेध गर्नुपरेको महानगरले बताएको छ । सोहि कारण महानगरभित्र चल्ने अटो राजमार्गको मुख्य चोकबाट क्रस भएर भित्रि बाटो भएर गुड्नुपर्ने नियम बनाइएको थियो ।
पछिल्लो समय राजमार्गमा गुड्ने अटोको संख्या बढेपछि ट्राफिक प्रहरीले कडाई गरेको हो । भदौ १० र ११ गते गरी दुई दिनमा निषेधित क्षेत्रमा चल्ने र पार्किङ गर्ने ६५ वटा अटोलाई नियन्त्रणमा लिएर ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराइएको चितवन ट्राफिक प्रमुख एवं प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले जानकारी दिए ।
उनीहरुलाई जरिवाना तिराउनुको साथै प्रशिक्षण पनि दिइएको उनले बताए । भरतपुर महानगरले चार वर्ष अगाडि नै राजमार्गमा अटो सञ्चालन गर्न रोक लगाएको थियो । हाल भरतपुरमा नयाँ अटोलाई रुट परमिट नदिने व्यवस्था मिलाइएको छ ।











