चितवन । नारायणी नदीको पुलबाट दक्षिण चितवनतर्फ र नवलपरासीतर्फ गरी हाल चार ठाउँमा तटबन्धको काम जारी छ ।
तटबन्धको काम जारी रहेको चार र सम्पन्न भइसकेको दुई गरी छवटा खण्डको करिब ९० करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ । भइसकेको कामको पनि भुक्तानी दिन बजेट नहुँदा आयोजना प्रमुख इन्जिनियर चक्र विक्रम सिंह काठमाडौँमा भौँतारिरहेका छन् ।
‘बजेट अभाव भएपछि तटबन्धको काममा पनि ढिलासुस्ती भएको छ । बजेट व्यवस्थापनका लागि काठमाडौँ आएको छु, तनावमा छु’, टेलिफोनमा बोल्दै सिंहले भने । चितवन र नवलपरासीतर्फ नदीकिनारलाई विभिन्न ११ खण्डमा विभाजन गरी तटबन्ध गरिएको हो । अधिकांश खण्डको काम सम्पन्न भइसकेको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ मा सिर्जित दायित्वमध्ये एक अर्ब १३ करोड रूपैयाँ भुक्तानी दिइएको उनले बताए । अब ९० करोड रूपैयाँजति भुक्तानी दिन बाँकी छ ।
चितवनको भरतपुर–४ र १६ को क्षेत्रमा भइरहेको तटबन्धको भौतिक प्रगति ९७ प्रतिशत पुगेको छ । यो खण्डको लागत एक अर्ब १५ करोड रूपैयाँ रहेकामा ५३ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी इन्जिनियर प्रकाश लम्सालले बताए ।
त्यस्तै, भरतपुर–२६ को भगडी–सिसै क्षेत्रमा भएको तटबन्धको भौतिक प्रगति ३५ प्रतिशत छ । ‘३७ करोड ५ लाख रूपैयाँ लागतको यो योजनाको ५ करोड रूपैयाँ दायित्व सिर्जना भएको छ । दुवै आयोजनाको म्याद आगामी असार मसान्तसम्म छ’, उनले भने ।
नवलपरासीको गैँडाकोट क्षेत्रमा एक अर्ब नौ करोड रूपैयाँ लागतमा तटबन्धको काम भइरहेको उनले जानकारी दिए । यसको भौतिक प्रगति ५३ प्रतिशत छ । निर्माण व्यवसायीले ३० करोड रूपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी छ । त्यस्तै, १२ करोड रूपैयाँ लागतमा मध्यविन्दु–कावासोती क्षेत्रमा तटबन्धको काम जारी छ । यसको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । सम्पन्न भइसकेको सुस्ता खण्डको एक करोड ३३ लाख र मध्यविन्दु–कावासोती–देवचुली क्षेत्रको करिब ९५ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेको उनले बताए ।











