लहान । सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदी तर्न हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलचालकले ४० रुपैयाँ तिर्नुपर्छ ।
हुलाकी सडकमा पर्ने कमला नदीमा ४७० मिटर लामो र ११ मिटर चौडाइ कमला पुल उद्घाटन नहुँदै भासिएपछि बर्खामा कमला नदी भएर ओहोरदोहोर गर्न निकै सास्ती खेप्नु परेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, सिराहा नगरपालिकाले १५ लाख ७५ हजार रुपैयाँमा छ महिनाका लागि असारसम्म बाँस र काठको अस्थायी पुल निर्माण गरिदिएपछि २० रुपैयाँको टिकट लिएर दिनभरि ओहोरदोहोर गर्न सकिने ठेकेदार वसन्त मुखियाले बताए । यो बाटो भएर दिनको एक हजार वटासम्म मोटरसाइकल ओहोरदोहोर गर्ने गर्छन् । बाँस र काठको अस्थायी पुल नहुँदा स्थानीयले आफ्नै लगानीमा बनाएको पुलबाट ओहोरदोहोर गर्दा १०० रुपैयाँ तिर्नु पर्थ्यो। सिराहा नगरपालिकाले व्यवस्थापन गरेपछि २० रुपैयाँमा ओहोरदोहोर भइरहेको स्थानीयले बताए ।
एक महिनाअघि कमला नदीमा आएको बाढीका कारण बाँस र काठले निर्माण भएको पुल हल्लिन थालेको छ । अब कुनै दिन ठुलो बाढी आयो भने पुल बगाएर लैजाने अवस्थामा पुगिसकेको छ।
स्थानीय बद्रीनारायण यादवले पक्की पुल भासिएको चार वर्ष हुनै लाग्दा पनि पुल निर्माण कार्य अघि नबढ्दा कमला नदी पार गर्न जोखिम मोल्नु परेको बताए। उनका अनुसार हुलाकी सडक निर्माणले ल्याएको खुशी पुल भासिएपछि निराशामा बदलिएको छ।











