कुलप्रसाद काफ्ले
सौराहा । तिर्थ लामाका बाजे महेन्द्र राजाका पालामा वन्यजन्तुको शिकार गर्थे । निकुञ्जबाट जनावरको शिकार गरेर ल्याउने जिम्मा उनका बाजेले पाएका थिए । २०७२ सालको भुकम्पमा परी घाइते भएका उनका बाजेको दुई वर्षअघि निधन भयो । बाजे पुस्ताले वन्यजन्तुको शिकार गरेकामा छोरा र नाती पुस्ताले भने वन्यजन्तुको उद्धार र संरक्षण गर्दै आएको छ । ४० वर्ष पुगेका तिर्थ वन्यजन्तुको उद्धारको लागि ‘हिरो’का रुपमा परिचित छन् ।
तिर्थका बुबाले पनि वन्यजन्तुको संरक्षणमा काम गरे । ६५ वर्ष पुगेका उनका बुबा पनि रिटायर्ड भइसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहामा उनी वन्यजन्तु प्राविधिकको रुपमा कार्यरत छन् । उनले हिँस्रक जनावरलाई नियन्त्रणमा लिने र दुःख पाएका वन्यजन्तुको उद्धार गर्ने काम गर्छन् । हिँस्रक जनावरको नियन्त्रणका लागि उनलाई देशभित्र मात्र नभई भारतमा समेत माग हुने गरेको छ । ‘वन्यजन्तु त महत्वपूर्ण रहेछ, मार्न हुन्न रहेछ भन्ने भएपछि बुबा जोगाउन लाग्नुभयो । उहाँको सिको गर्दै हामी पनि वन्यजन्तु जोगाउन लाग्यौँ’, उनी भन्छन् ।
बुबाले काम गरेको सानैदेखि देखेका तिर्थले बुबाको रिटायर्डपछि वन्यजन्तु प्राविधिकका रुपमा काम गर्न थालेका हुन् । उनलाई बुबाले २२ वर्ष अघि वन्यजन्तुको उद्धार गर्न सिकाएका हुन् । सन् २००० देखि वन्यजन्तुको उद्धारको लागि क्यामरा ट्रापिङ गर्न सुरु गरेका उनले सन् २०१० देखि वन्यजन्तुलाई डार्ट गर्न थालेका हुन् । हिँस्रक जनावर बाघ र गैैंडालाई डार्ट गर्न सहज हुँदैन । तर, उनको निशाना कमै रुपमा मात्रै चुक्ने गरेको छ ।
वन्यजन्तुको उद्धार र स्थानान्तरण गर्न पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म र छिमेकी देश भारत पनि पुगेको उनले बताए । १० वटा मान्छे खाएको नरभक्षी बाघ ‘चम्पारण आदमखोर’ नियन्त्रण लिन उनी गएको असोजमा भारतको पश्चिम चम्पारण गएका थिए । बाघलाई नियन्त्रणमा लिन बिहारको स्पेशल फोर्स नै बारम्बार असफल भएपछि नेपाली टोली त्यहाँ पुगेको थियो । नेपाली वन्यजन्तु चिकित्सक र प्राविधिकले ‘भिट’ लगाएर बाघलाई एकठाउँमा केन्द्रित बनाएपछि त्यहाँको सेनाले गोली हानेर मारेको हो ।
बाघ रहेको स्थानलाई चारैतिरबाट सेतो कपडाले बेर्ने कामलाई ‘भिट’ लगाउने भनिन्छ । भिट लगाएपछि चारैतिरबाट हात्तीले घेरेर बाघलाई एक ठाउँमा केन्द्रिकृत गर्ने काम गरिन्छ । नेपालमै पनि नरभक्षी बाघलाई डार्ट गरेर बेहोस बहाउँदै आएका उनले दुर्लभ एकसिंगे गैंडाको उद्धार पनि गर्दै आएका छन् । कसराको पिंजडामा तीन वटा र सौराहाको पिंजडामा दुई वटा मान्छे खाने बाघलाई राखिएको छ । नेपालमा बाघको संख्या बढेसँगै मानवसँगको द्धन्द्ध पनि बढेको छ । नेपालमा ३५५ वटा पाटे बाघ छन्, ती मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १२८ बाघ छन् ।
बाघले पशु चौपायादेखि मानिसलाई नै पनि मार्ने गरेको छ । हालसालै कुमरोजमा बाघले स्थानीयको गाई भैंसी मारेर दुःख दिइरहेको छ । क्यामरा ट्रापिङ गरेर उनले बाघको निगरानी गर्ने काम गरिरहेका छन् । उनले बाघको अनुसन्धान गर्न आउने विद्यार्थी वा अनुसन्धानकर्तालाई जंगल र बाघको बारेमा जानकारी गराउने गरेका छन् । हालसम्म हात्ती, गैंडा, बाघ, भालुलगायत विभिन्न २०० भन्दा बढी वन्यजन्तुको उद्धार गरेको उनी बताउँछन् ।

‘डार्ट गर्दा जनावरको शरिरमा जहाँ पायो त्यहिँ हान्नुहुन्न । जहाँ मासु हुन्छ, वा गर्धन हुन्छ । त्यहाँ मात्र हान्नुपर्छ’, उनी भन्छन्, ‘कहिलेकाही हात्तीमाथि बसेको माहुते र प्राविधिकलाई नै बाघ झम्टिन पनि आउँछ ।’ रुखमा बसेर डाट गर्दा सुरक्षित महसुस हुने उनी बताउँछन् । तीन महिनाअघि कुमरोजमा उनको टिम बाघलाई डाट गर्न पुगेको थियो । बाघ बुढो नै भएपनि त्यसलाई नियन्त्रण गर्न कठिन छ ।
बाघलाई डार्ट गर्ने तयारी गर्दा गर्दै बाघले माहुतेलाई झम्टिन आयो । माहुते पछाडि बसेका लामाले माहुतेलाई आफुतिर तानेपछि केहि इन्चको दुरीले मात्रै बाघको पञ्जाले नभेटेको उनी बताउँछन् । विंस. २०७४ सालमा नेपालको गैंडा बाढीले बगाएर भारत पु¥याएपछि उनको टोली गैंडा उद्धार गरेर ल्याउन वाल्मिकी टाइगर रिजर्ब गएको थियो । त्यतिबेला १० वटा गैंडा उद्धार गरेर नेपाल ल्याइएको उनले बताए । उद्धार गर्न लागेको छैटौँ गैंडाको आक्रमणबाट बचेर उनी मृत्युको मुखबाट फर्किएका हुन् ।

पांगो माटो भएको स्थानमा उनले गैंडालाई डार्ट गर्न खोज्दै थिए । गैंडाको खुट्टाभरी बाक्लो पांगो माटो टाँसिएको थियो । डार्ट गर्ने बन्दुक बोकेका लामा अगाडि तीन जना कर्मचारी थिए । हान्नलाई लामालाई नै ‘तार्गेट’ गरेको गैंडाले अगाडिका तीन जनालाई भने केहि नगरेको उनी बताउँछन् । २० मिटरजति अगाडि भएको गैंडाले मुन्टो मुनि गरेर कान ठाडो बनाएर मलाई हान्ने सुर गर्दै थियो । अब आफुलाई जसरी पनि हान्ने भयो भन्ने भएपछि उनले टाउको घुमाएर पछाडि हेरे ।
पछाडि केहि पर सिमलको रुख थियो । बच्नुको विकल्प नभएपछि फरक्क पछाडि फर्केर दौडेर सिमलको रुखलाई एउटा हातले अंगालो हालेको मात्र के थिए, गैंडाको थुतुनोले उनलाई छोएर गयो । उनले सम्झँदै भने–‘दाह्राले चाँहि छुन पाएन । फेरि फर्केर आएर मलाई त्यो रुखको तीन फन्को घुमायो । मलाई स्योर मार्ने भयो । अब बच्नुको अन्तिम विकल्प केहि नभएपछि उसको मुखमा त्यहि डार्ट गर्ने बन्दुकले हान्छु भन्ने सोँच आयो । त्यो गैंडा मतिर आउँदै थियो । त्यत्तिकैमा उसको पछाडिबाट हाम्रो डाक्रटसापको टोली हात्ती लिएर आउँदै रहेछ । त्यो हात्तीले भकाभक रुख ढलाउन थालेपछि त गैंडाले छाडेर गइहाल्यो ।’

घटना हुँदोका क्षण नडराएका लामालाइ त्यसदिन राती सुत्ने बेलामा मात्रै डर लागेको उनले स्मरण गरे । घटना भएपछि दुई दिनसम्म आफु उद्धारमा नगएको उनले बताए । जंगलमा मान्छेको चाप बढ्दा, वन्यजन्तुको बासस्थान भएको ठाउँमा गएर होहल्ला गर्दा र वन्यजन्तु आपसमा जुधेका बेला पनि वन्यजन्तुमाथि आक्रमण हुने सम्भावना बढी हुने उनी बताउँछन् । भर्खरै माउले छाडेका अर्ध वयस्क वन्यजन्तुले पनि आक्रमण गर्ने सम्भवना पनि धेरै हुने उनले बताए ।
बुढो हुँदै गएको बाघले मान्छेलाई आक्रमण गर्न सक्ने सम्भावना धेरै हुने उनी बताउँछन् । ‘जंगल जाने क्रममा उनीहरुसँग मुठभेड भएमा जनावरले हान्ने हो, अरुबेला जनावरले मार्दैन’, उनले भने । एक वर्षमा आठ महिनाजति उनी जंगलमै विताउँछन् । एक महिनासम्म लगातार जंगलमा टेन्ट टाँगेर बसेको पनि उनीसँग अनुभव छ । वन्यजन्तुको उद्धार गर्ने टोलीमा तीन जना भेटेरिनरी चिकित्सक र वन्यजन्तु प्राविधिकगरी १० जनाभन्दा बढी रहने उनी बताउँछन् ।

कहिलेकाँही जनावरको उद्धार गर्दा जनावर मर्न पनि सक्ने उनले बताए । ‘डाट गर्नेबेलामा प्राविधिक गडबढी हुन सक्छ । अनि डाट गरिसकेको जनावरलाई उद्धारस्थलसम्म पु¥याउन ढिलो हुँदा पनि जनावर मर्न सक्छन्’, उनी भन्छन्, ‘डाट गरेको जनावर टाढा अफ्ठेरो ठाउँमा गएर बेहोस भइदिन सक्छ । त्यसलाई बोकेर ल्याउन गाह्रो हुन्छ । रेस्क्यु गर्दा १० प्रतिशत जनावर मर्ने सम्भावना हुन्छ ।’
एउटा बाघलाई समाउन सामान्यतया ३० मिनेटदेखि २२ दिनसम्म लाग्ने गरेको उनी बताउँछन् । बाघलाई समाउन नौ वटासम्म हात्तीको प्रयोग हुने उनले बताए । बाघ समाउँदा १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उनको भनाइ छ । चितवन पोष्टबाट














