काठमाडौं । लगातार हुस्सु र कुहिरो लागेपछि तराईरमधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । निरन्तर हुस्सु लागेर चिसो स्याँठ चल्दा घर बाहिर निस्कन समस्या भएको छ । मधेशमा हुस्सु र कुहिरो लागेसँगै तापक्रम घटिरहेकोले चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।
चिसो बढेपछि तराई क्षेत्रका केही विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरले आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। बाक्लो हुस्सु लागेपछि महानगरले आजदेखि पर्सिसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको महानगरका शिक्षा अधिकृत हरि राउतले बताए ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा गाडीको आवागमन प्रभावित भएको छ । हुस्सु र कुहिरोले दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि गएराति केहीबेर दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । आज बिहानदेखि एकतर्फी गाडी सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अरु ठाउँको मौसम सफा रहने अनुमान छ । बिहान ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ ।
काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो । बिहानको समयमा काठमाण्डौमा सामान्य हुस्सु र कुहिरो लागेकोमा दिउँसो मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।











