काठमाडौं । नेकपा एमालेले अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गरेको छ।
एमालेको केन्द्रीय कमिटी बैठकले भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकार सम्पन्न र साधनस्रोतले युक्त बनाउन आग्रह गर्दै भ्रष्टाचारजन्य सबै प्रकरणको अनुसन्धान गर्न आग्रह गरेको हो।
एमालेको केन्द्रीय कमिटीको बैठकपछि १४ बुँदामा प्रस्ताव पारित गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सरकारले गरेका कामलाई थप प्रभावकारी बनाउन आग्रह गरेको हो।
‘गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक छन्। यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्यायनिरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारविरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गर्छ,’ एमालेको केन्द्रीय कमिटी बैठकबाट पारित प्रस्तावमा उल्लेख छ, ‘आफ्नो पंक्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने–गराउने दृढ संकल्प गर्छ,’ पार्टी केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष ओलीले पनि भ्रष्टचारका सबै प्रकरणमा सरकार निर्मम भएर प्रस्तुत हुने बताएका थिए।
उनले भ्रष्टाचारजन्य कार्यमा संलग्न जोकोहीलाई सरकारले अनुहार हेरेर चुप नबस्ने बताएका थिए। बैठकको समापनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरू कायम नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताएका थिए।
एमालेको केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूह कायम नरहेकाले त्यस्ता पूर्वसमूह खोज्नतिर नलाग्न आग्रह गरेका थिए।