चितवन । पर्यटकिय स्थलको प्रबर्द्धन गर्न चितवन राइनो राइडर्स मोटरसाइकल क्लबले मेघौली–बारपाक मोटरसाइकल र्यालीको आयोजना गरेको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा आयोजना गरिएको मोटरसाइकल र्यालीमा मोटरसाइकलको पछाडि सवारसमेत गरी कम्तिमा १७० जना सहभागी हुने अपेक्षा गरिएको छ ।
‘ह्विल्स अन हिल्स’को पाचौँ संस्करण अन्तर्गत आयोजना गरिएको मोटरसाइकल र्यालीमा सहभागी राइडहरुले सोमवार राति मेघौलीको साराङ वाइल्डलाइफ स्यान्चुरीमा ‘इभ प्रि पार्टी’ गर्ने चितवन राइनो राइडर्स मोटरसाइकल क्लबका अध्यक्ष प्रीतम श्रेष्ठले बताए । मंगलवार अर्थात् डिसेम्बर ३१ तारिखको बिहान मेघौलीबाट मोटरसाइकल र्याली सुरु हुने उनले बताए ।
मोटरसाइकल र्यालीमा सहभागी हुने सबै मोटरसाइकलहरु रोयल इन्फिल्डको हुने चितवन राइनो राइडर्स एमसी क्लबका उपाध्यक्ष मन्दिपमान श्रेष्ठले जानकारी दिए । राइडहरुले बारपाकमै पुगेर नयाँ वर्ष मनाउने उनले बताए । मोटरसाइकल र्यालीमा भारतका आठ र भुटानको एक गरी २५ वटा क्लबका राइडर सहभागी हुने छन् ।
मोटरसाइकल र्यालीमा सहभागी हुने राइडरबाट रजिष्ट्रेशनबापत पहिलो चरणमा छ हजार ५०० र दोस्रो चरणमा सात हजार ५०० रुपैयाँ शुल्क लिइएको थियो । कार्यक्रमलाई विभिन्न कम्पनीहरुले प्रायोजन समेत गरेका छन् । ‘रजिष्ट्रेशन र प्रायोजकबाट उठेको रकमबाट राइडहरुलाई खान र बस्नको व्यवस्था गरेका छौँ । बचेको रकमबाट आवश्यक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्नेछौँ’, उनले भने ।
र्यालीमा सहभागी सबै राइडरहरुले ध्वनी प्रदुषण नगरी मोटरसाइकल चलाउने चितवन राइनो राइडर्स एमसी क्लबका बोर्ड सदस्य डा शशांक कुमार सिंहले बताए । ‘सबै राइडरहरुले हेल्दी राइड गर्नुहुनेछ । कुनै साउन्ड पोलुसन हुने छैन । रोयल इन्फिल्ड चलाउरु साउण्ड पोलुसन गर्ने खालका राइडहरु सहभागी हुन पाउनेछैनन्’, उनले भने । पर्यटन प्रबर्द्धनका लागि यसअघि दामन, सौराहा, घलेगाउँमा मोटरसाइकल यात्रा गरिएको थियो । मोटरसाइकल र्याली आयोजना गर्दा बचेको रकम सामाजिक काममा खर्च गरिँदै आइएको उनले बताए ।











