चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा राष्ट्रिय खाना महोत्सव शुक्रवारदेखि मेघौलीमा सुरू भएको छ । महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका हुन् । रैथाने खानाको महत्व बुझाउन यस्ता महोत्सव प्रभावकारी हुने मुख्यमन्त्री लामाले बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक आएको बताइन् । भ्रमण वर्षको अवसरमा बाह्य दुई लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका उनले बताइन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्विमा महत्वपूर्ण भूमिका पुगेको उनले बताइन् ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्देश्यले भ्रमण वर्षको आयोजना गरिएको बर्ताए । भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्न स्थानीय जनतामा यो महोत्सवले थप ऊर्जा मिल्ने उनले बताए ।
पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहेको संयोजक मायाराम चौधरीले जानकारी दिए । महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरूङ, बोटे, मुसहर समुदायसहितका स्थानीय जातका खाना राखिएका छन् । स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताउनुभयो । महोत्सवमा एक लाखभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ ।











