चितवन । सहकारी संस्थालाई उत्पादनसँग जोड्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सहकारी संस्थाहरु नीति र विधिअनुसार चल्नुपर्ने एवं सहकारीका सदस्यहरुले सहकारीप्रति चासो र समय दिनुपर्ने उनीहरुको भनाइ छ । चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघको शनिवार सम्पन्न ११औँ वार्षिक साधारण सभामा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
जिल्ला सहकारी संघ चितवनका अध्यक्ष भक्तिराम अधिकारीले सदस्यहरुले सहकारीमा चासो र समय दिनुपर्ने बताए । सहकारी संस्थाहरुलाई उत्पादनमा जोड्नुपर्ने बताउँदै उनले धेरै व्याज पाउने र उपहारहरु पाउने लोभमा चिन्दै नचिनेका सञ्चालक भएको सहकारीमा बचत नगर्न बचतकर्ताहरुलाई आग्रह गरे । ‘सहकारीमा सदस्यहरु पनि चनाखो हुनुपर्छ, चिन्दै नचिनेका सञ्चालक भएको सहकारीमा बचत गर्न हुँदैन’, उनले भने ।
कार्यक्रममा संघका सचिव सुरेश पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कुलप्रसाद खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भीष्म खनालले सरोकारवालाको सुझावलाई आत्मसात् गर्दै सदस्य संख्या विस्तारमा लाग्ने बताए । साधारण सभाको बन्द सत्रमा पेस भएका कार्ययोजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लगिने पनि उनले बताए ।
बाहिरी जिल्लाबाट आएका व्यक्तिले सञ्चालन गरेको सहकारीमा धेरै समस्या देखिएको सरोकारवालाहरुले बताए । सहकारीले उत्पादन गरेका वस्तु सबैले उपयोग गरी प्रोत्साहन पनि गर्नुपर्ने भन्दै उनीहरुले सेयर सदस्यहरु चनाखो नहुँदा सहकारी संस्थाहरु डुबेको बताए । सहकारीले कसैको मुख हेरेर नभई उसको परियोजना हेरेर ऋण लगानी गर्नुपर्ने उनीहरुले सुझाए ।
संघले साधारण सभाको अवसरमा संघका संस्थापक सदस्य एवं पहिलो सहकारी बखान सहकारीका पूर्वअध्यक्ष हुमबहादुर क्षेत्री र संघको २०७२–७६ को कार्यसमिति सदस्य सन्तमाया गुरूङलाई सम्मान पनि गरेको छ । सहकारी क्षेत्रको उन्नयनमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी उनीहरुलाई सम्मान गरिएको हो ।
चितवनमा ६५ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु रहेका छन् । चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघमा ३७ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु आबद्ध छन् । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिनेशकुमार चुके, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारी, कृषि विज्ञ केशवलाल श्रेष्ठलगायत सहभागी थिए ।











