गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित गण्डकी प्रदेश महोत्सवमा आज कलाकार अस्मिता अधिकारीको प्रस्तुती रहने बताइएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले आज साँझ अधिकारीले आफ्ना चर्चित गीतहरु गाउने जानकारी दिए ।
लम्सालकाअनुसार अधिकारीको साथमा रवि रिमाल, ममता गुरुङ, प्रतिभा गैरे, राजन दिल गुरुङलगायतका कलाकारहरुको प्रस्तुती रहने छ । त्यसैगरी सांस्कृतिक कार्यक्रममा हरेक दिन स्थानीय कलाकार तथा विभिन्न संघसंस्थाहरुको प्रस्तुती रहेको लम्सालको भनाइ छ । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको छ ।
महोत्सवप्रति दर्शकहरुको आकर्षण दिनप्रतिदिन थपिँदै गएको महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् अमृत भट्टचनले बताए । कात्तिक २६ गतेदेखि सञ्चालन भएको महोत्सवको हालसम्म करिब एक लाख दर्शकले अवलोकन गरिसकेका उनको भनाइ छ । महोत्सव मंसिर १० गतेसम्म सञ्चालन हुने भएकाले आयोजकको अपेक्षाअनुसार दर्शकको उपस्थिति र आर्थिक कारोबार हुने उनले बताए ।
महोत्सव परिसरमा निर्माण गरिएको नेपालकै पहिलो अन्डरवाटर फिस टनेल एवम् जनजातिहरुको सांस्कृतिक घरले दर्शकहरुलाई आकर्षण गर्दै लगेको उनको भनाइ छ । सांस्कृतिक घर अवलोन गर्ने दर्शकहरुले थारु, मगर, तामाङ, गुरुङ र चेपाङको संस्कृतिबारे चासो राख्दै उनीहरुको परम्परागत परिकारको स्वादसमेत लिने गरेका उनले बताए । दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिए ।
सङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ । एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उनको भनाइ छ । महोत्सवमा सबै खर्च कटाएर आयोजकले ३० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको भट्टचनले बताए ।












