गैँडाकोट । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको आज १० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् अमृत भट्टचनले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको बताए ।
मंसिर १० गतेसम्म महोत्सव सञ्चालन हुने भन्दै अझै एक लाख बढी दर्शकहरु महोत्सव अवलोकन गर्न आउने अपेक्षा रहेको उनको भनाइ छ । हालसम्म करिब ८० हजार दर्शकहरुले महोत्सव अवलोकन गरेका भन्दै उनले महोत्सव अवधिसम्म एक लाख ५० हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आफूहरुको अपेक्षा रहेको बताए । महोत्सव परिसरमा निर्माण गरिएको नेपालकै पहिलो अन्डरवाटर फिस टनेल एवम् जनजातिहरुको सांस्कृतिक घरले दर्शकहरुलाई आकर्षण गर्दै लगेको उनको भनाइ छ ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिए । सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ ।
एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उनको भनाइ छ । महोत्सवमा सबै खर्च कटाएर आयोजकले ३० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको भट्टचनले बताए ।
आज महोत्सवमा कलाकार श्याम राना, सीता सापकोटा, दीपक खड्कासहित स्थानीय कलाकारहरुले प्रस्तुती राखेका महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले बताए । महोत्सवमा भोलि सोमबार जादुगर बलराम सरकारको प्रस्तुती रहने लम्सालले बताए । त्यस्तै, अर्जुन सापकोटा, शान्ति रानी परियार, अविशा राई, बबिता धिताल, दीपक खड्कालगायतका कलाकारको प्रस्तुती रहने लम्सालको भनाइ छ ।












