कीर्तिपुर । मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला हनी र वडा नं ४ को अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनी मेयर र मौनी वडाध्यक्ष पदमा उम्मेदवार बनेका हुन्।
मायाको पहिचान नेपालको कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरी हनी र मौनीले उम्मेदवारी घोषणा गरेका थिए। कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले राज्यको ध्यान नगएको अवस्थामा पार्टीको ध्यान जानुपर्छ भनेर तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने घोषणा गरेको बताए।
मेयरका उम्मेदवार हनीले जसपा नेपालले उम्मेदवार बनाएकोमा गर्व लागेको बताए। उनले दबिएर बस्नुपर्ने अवस्थामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानसँगै कीर्तिपुरको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए।
देशभरका स्थानीय तहको नेतृत्वमा पुरुष र महिला मात्र छन्। कीर्तिपुर नगरमा पहिलो पटक तेस्रो लिङ्गी महिलाले उम्मेदवारी घोषणा गरेका हुन्।
सामाजिक परिवर्तनको मूल मर्म विथोल्नेविरुद्ध मैत्रीपूर्ण वैचारिक सङ्घर्षलाई अगाडि बढाइने, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र उत्पीडित वर्ग समुदायलाई विकासको मूल प्रवाहमा समाहित गराउने लैङ्गिक पहिचानका आधारमा हुने सबै खाले विभेद अन्त्य गर्ने हनीको चुनावी प्रतिबद्धता छ।











