सुनिता सुवेदी
चितवन । आज भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा देशभर करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबै क्षेत्र र समूदायप्रति आयोगले धन्यवाद ज्ञापन गरेको छ ।
देशभरबाट पुरै तथ्यांक आइपुग्दाकेहि प्रतिशत मतदान बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनले भने, ‘यद्यपी आयोगले गरेको मतदान भन्दा कम मत खस्यो ।’
निर्वाचन आयोगका अनुसार केहि सामान्य घटना बाहेक शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको छ । सुरक्षा व्यवस्था चुस्त बनाउँदा बनाउँदै पनि केहि घटना भएको उनले बताए ।
‘सुर्खेत, नवलपरासी र बाजुराका १५ स्थानमा मतदान स्थगित हुन पुगेको छ,’ उनले भने, ‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई दुईदिन भित्र उक्त ठाउँहरुमा पुन मतदान गराउन निर्देशन दिएका छौँ ।’
आयोगका अनुसार मतगणना स्थलमा ल्याइएका मतपेटिका काठमाडौँ लगायतका अन्य केहि जिल्लामा आज रातीदेखि नै मतगणना सुरु हुनेछ । अन्य स्थानहरुमा मतपेटिका सुरक्षितसाथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिएको छ ।











