चितवन । भरतपुरका खाद्यान्न उद्योग तथा पसलमा चाडपर्व लक्षित संयुक्त अनुगमन जारी छ । लापरबाही गर्ने उद्योग तथा पसललाई तत्काल जरिवाना गरिएको छ । शुक्रवार पनि एउटा तेल उद्योग र एउटा किराना पसललाई जरिवाना गरिएको छ।
भरतपुर महानगरपालिका–११ बसेनीस्थित सिद्धि विनायक तेल उद्योगलाई २० हजार र भरतपुर–१० नहरचोक स्थित न्यु सुलभ एण्ड कोल्ड स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलले जानकारी दिए । जरिवाना रकम सात दिनभित्र वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको खातामा जम्मा गर्न निर्देशन दिइएको छ ।
तेल उद्योगले दर्ता तथा अनुमति प्रमाणपत्र देखाउन नसकेपछि जरिवाना गरिएको हो । त्यस्तै, किराना पसलमा केहि खाद्य वस्तुको म्याद गुज्रिएको, मूल्य सूची नराखेको र प्रमाणपत्र देखाउन नसकेकाले जरिवाना गरिएको पौडेलले बताए । चाडपर्वको समयमा हुनसक्ने कृत्रिम अभाव, कालोबजारी, मूल्यबृद्धि र न्युनगुणस्तरको खाद्यान्न विक्रीलाई नियन्त्रण गर्न चितवनमा अनुगमन भइरहेको छ ।
संयुक्त अनुगमनका लागि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जबाट कार्यालय प्रमुख सुनिल चौरसिया नेतृत्वको टोली भरतपुर आएको थियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, उद्योग वाणिज्य संघ चितवन र उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका प्रतिनिधिहरुको सहभागीता थियो । लापरबाही गर्ने उद्योग तथा व्यवसायलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तत्काल जरिवाना गरी कारबाही गरिएको हो ।











