चितवन । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर मावि मतदान स्थलमा पत्रकारलाई प्रवेश निषेध गर्ने सर्वदलिय निर्णय गरिएको छ । मतदानको दिन भोलि पत्रकारलाई मतदान स्थलमा प्रवेश गरी समाचार संकलन गर्न नदिने निर्णय भएको मतदान अधिकृत र सुरक्षाकर्मीहरुले बताएका छन् ।
७ वटा मतदान केन्द्र रहेको यो मतदान स्थलमा ७ हजार १६८ मतदाताले मतदान गर्दै छन् । स्थानीय तहको निर्वाचनमा पनि यस मतदान स्थलमा पत्रकारलाई समाचार संकलन गर्न अवरोध गरिएको थियो । समाचार संकलनमा अवरोध गरिएपछि त्यसबेला पत्रकार र दलका प्रतिनिधि बीच धकेलाधकेल नै भएको थियो ।
यस पटक भने प्रवेश नै नदिने निर्णय दलहरुले गरेको उक्त मतदान स्थलमा खटिएका कर्मचारी विसुराम कुँवरले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले भने मतदानको दिन पत्रकारलाई मतदान स्थलमा कुनै निषेध नहुने बताउँछन् ।

‘मतदान अधिकृत अति व्यस्त छन् भने पत्रकारलाई एकछिन कुराएर भएपनि मतदाताको गोपनियता भंग नहुने किसिमले पालैपालो फोटा र भिडियो खिच्न दिनुपर्छ’, उनले भने, ‘मतदान स्थलमा पत्रकारलाई प्रवेश निषेध गर्ने दलहरुले निर्णय गर्न पाउँदैनन् ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि शनिबार एक सूचना जारी गरी पत्रकार र पर्यवेक्षकलाई प्रवेश निषेध गर्नु अवैधानिक हुने बताएको छ ।
‘कुनै मतदान क्षेत्रमा भोली पत्रकारलाई प्रवेश निषेध गर्ने गरी सर्वदलीय निर्णय भएको गुनासो आयो । पत्रकार र पर्यवेक्षकलाई हाम्रो काममा वाधा नहुने गरी परिचयपत्रका आधारमा प्रवेश दिनुपर्छ । निषेध गर्नु अवैधानिक हुन्छ। खास गरी शुरुमा भिड हुन्छ, एक राउण्ड फोटो खिचेपछि हलुका हुन्छ। मतदानको विवरण समय मिलाएर वाहिर सार्वजनिक गर्ने गरिएमा पत्रकारको प्रवेस पनि कम हुन्छ’, सूचनामा भनिएको छ ।












