चितवन । भोलि मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सांसदको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी भइसकेकोले निर्धक्क भएर भोट हाल्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।
देशभर एकै साथ हुन गइरहेको चुनावमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले भोट हाल्न पाउनेछन् । विदेशमा रहेका नेपालीले भने भोट खसाल्ने व्यवस्था गरिएको छैन ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानको दिन मतदान केन्द्रमा जाँदा परिचय खुल्ने सरकारी कागजको कुनै एक सक्कल प्रति लिएर भोट हाल्न पाउने आयोगले निर्णय गरेको छ ।
आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, राहधानी र सवारीचालक अनुमतीपत्र लिएर भोट हाल्न जान सकिने निर्वाचन आयोगले जनाएको छ ।











