चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले समकालिन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको बताएका छन् । आज बिहान आफ्नो फेसबुकमार्फत गिरीलाई श्रद्धाञ्जली दिँदै प्रचण्डले गिरीको परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
कांग्रेस नेता गिरीको शनिबार ७५ वर्षको उमेरमा निधन भएको हो । नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक समेत रहेका गिरीको निधनले स्तब्ध बनाएको प्रचण्डले बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु ।’
घाँटीको क्यान्सरसँगै निमोनियाबाट समेत ग्रस्त गिरीको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारका क्रममा शनिबार राती करिब ९ बजेतिर मृत्यु भएको हो ।











