काठमाडौं । नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन्।
नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो।
बैठकको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए।
बैठकमा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा विगतमा भएका निर्णयहरुको मूल्याङ्कन गरिएको थियो।
उनीहरुले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्रालयले जनाएको छ।
दुवै तर्फबाट नेतृत्व गरेका प्रमुखले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको बताएका थिए।
परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवाद दिइन्। उपविदेशमन्त्री वेइतोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरे।
दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा समेत छलफल भएको थियो। सन् २०२५ लाई नेपाल र चीन भ्रमण वर्ष मनाउने सन्दर्भमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन, व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।











