हेटौँडा । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुको क्षमता अभिवृद्धि तालिम हेटौँडामा सम्पन्न भएको छ । तालिम अमेरिकास्थित अलाबामा राज्यको टस्केगी विश्वविद्यालयबाट सञ्चालित युएसएआइडी कृषि उच्च शिक्षा कार्यक्रमको सहयोग तथा विश्वविद्यालय अन्तर्गत निरन्तर शिक्षा केन्द्रको आयोजनामा सम्पन्न गरिएको केन्द्रका निर्देशक तथा तालिम संयोजक सह-प्राध्यापक डा निराजन भट्टराईले जानकारी दिए ।
डा भट्टराईले नेपालमा कृषि वन प्रणालीको अभ्यास बाली बिविधिकरण, वन्यजन्तु पर्यटन, पर्यापर्यटन, कृषि पर्यटन लगायतका क्रियापलापहरु मार्फत आयआर्जन वृद्धि गर्न तथा वनमा निर्भर समुदायको जीवनस्तर माथी उकास्नका लागि महत्वपूर्ण रहेको बताए । “तालिम पश्चात नेपालमा सुहाउँदो कृषि वन प्रणालीको अभ्यास विकास गरी विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गर्न पहल गरिनेछ” उनले भने ।
विश्वविद्यालयको वन विज्ञान संकाय हेटौँडामा दुई दिनसम्म सञ्चालित तालिममा अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयका प्राध्यापक डा उमा कार्कीले कृषि वन प्रणालीका विभिन्न आयममा विशेष सहजिकरण गरेकी थिइन् । उनले नेपालको सन्दर्भमा अभ्यासमा ल्याउन सकिने कृषि वन प्रणालीको नमुनाहरुको विकासमा प्राध्यापकहरुलाइ कार्यपत्र तयार पार्नका लागी समेत सहयोग गरिन् ।
उनले नेपालमा नवीन कृषि वन प्रणाली अभ्यास गर्न सकेमा सामाजिक आर्थिक र वातावरणीय पक्षमा निकै फाइदा पुग्ने बताइन् । “तर कृषि वन प्रणाली अभ्यासका लागी लामो समयसम्म लगानी गर्नुपर्ने, नियमित व्यवस्थापनका लागी विषेश ज्ञान, सीप र हेरचाहको आवस्यकता पर्दछ” उनले भनिन् ।
तालिममा सहभागी प्राध्यापकहरुले समुहगत छलफल गरी कृषि वन व्यवसाय र अनुसन्धान सम्बन्धी अवधारणा पत्र तयार पारी प्रस्तुत गरेका थिए । तालिममा सहभागी उप प्राध्यापक दावा छिरिङ तामाङले नेपालमा कृषि वन प्रणालीको नयाँ मोडल विकासका लागि कार्यक्रमले उर्जा प्रदान गरेको बताए ।
साथै अर्का सहभागी उप प्राध्यापक प्रमोद घिमिरेले नेपालमा कृषि वन प्रणालीको अनुसन्धान र शिक्षा प्रणालीको विकासमा योजना बनाएर तालिममा सिकेका कुराहरुलाइ व्यबहारमा लागु गर्नुपर्ने राय व्यक्त गरे ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्राडा शारदा थपलिया, वन विज्ञान संकायका डीन डा गान्धीव काफ्ले, पूर्व डीन बलराम भट्ट युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाका अन्तरिम राष्ट्रिय व्यवस्थापक डा भृगुॠषि दुवाडी, परियोजना निर्देशक प्राडा नरकाजी गुरुङ, परियोजनाका अनुगमन तथा मूल्यांकन विज्ञ परशुराम रिमाल लगायतको विषेश उपस्थिति रहेको थियो । तालिममा विश्वविद्यालयको विभिन्न संकायमा कार्यरत २५ जनाभन्दा बढि प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
के हो कृषि वन प्रणाली ?
कृषि, पशुपालन र वनका क्रियाकलापहरुलाई जमिनको एउटै इकाइमा एकीकृत रुपले अभ्यास गर्ने प्रणाली नै कृषि वन प्रणाली हो । नेपालमा कृषि वन प्रणालीलाइ सहजिकरण गर्नका लागी राष्ट्रिय कृषि–वन नीति, २०७६ जारी भइ हाल कार्यान्यनमा रहेको छ ।
खाली तथा बाँझो जमिन, वन्यजन्तु प्रभावित क्षेत्र तथा अन्य सीमान्तकृत भूमिको उपयोग मार्फत कृषि, पशुपालन र वन विकासका कार्यहरुलाई एकीकृत रुपमा कृषि वन प्रणाली मार्फत सञ्चालन गर्दा प्रति इकाइ जमिनको उत्पादकत्वमा बृद्धि भई खाद्य सुरक्षा, रोजगारी, जीविकोपार्जनका अवसरहरुको सिर्जना, जैविक विविधता तथा भूमिको संरक्षण, जलवायु परिवर्तनको नकारात्मक प्रभावहरुको न्यूनीकरण र अनुकूलनमा सकारात्मक योगदान पुग्ने प्रचुर सम्भावना छ ।
नेपालको अर्थतन्त्रमा कृषि, पशुपालन र वन क्षेत्रले महत्वपूर्ण योगदान गरेको छ । मुलुकको कुल ग्राहस्त उत्पादनमा कृषि क्षेत्र (कृषि वन मत्स्य)को योगदान २४.१ प्रतिशत छ । नेपालमा कृषि वनको विभिन्न रुपमा संयुक्त अभ्यास गर्ने प्रणाली परम्परागत रुपमा हुँदै आएको छ । रुख संगसंगै कृषिजन्य बाली लगाउने कार्यको शुरुआत सन् १९७२ मा बारा जिल्लाको तामागढ़ीबाट भई तराईका केही जिल्लाहरुमा विस्तारको प्रयास भएको थियो।
हाल विश्वमा कार्वन उत्सर्जनको दर बढ्दै गएको अवस्था छ । वायुमण्डलमा कार्वनको स्रोतको मात्रा बढ्दै जानु मानवीय गतिविधिको समेत परिणाम हो । वनले वायुमण्डलबाट कार्बन सोसेर जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । कृषि वन अभ्यासले कार्वन संञ्चितिकरणमा समेत योगदान पुर्याउँछ ।
हाल विश्वमा कार्वन उत्सर्जनको दर बढ्दै गएको अवस्था छ । वायुमण्डलमा कार्वनको स्रोतको मात्रा बढ्दै जानु मानवीय गतिविधिको समेत परिणाम हो । वनले वायुमण्डलबाट कार्बन सोसेर जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । कृषि वन अभ्यासले कार्वन संञ्चितिकरणमा समेत योगदान पुर्याउँछ ।











