भरतपुर । प्रस्तावित रेलमार्ग पीडित संघर्ष समिति भरतपुरले आज जनसभा आयोजना गरी यहाँका जनप्रतिनिधि र जिल्लाका राजनीतिक दलका नेताहरुलाई झिकाएको छ । जनसभामा सहभागी भएका जनप्रतिनिधि र दलका प्रमुख तथा प्रतिनिधिले घनाबस्तीको बीचबाट रेलमार्ग लैजान कुनै हालतमा नदिने प्रतिबद्धता व्यक्त गरे ।
चितवन क्षेत्र नं ३ का सांसद एवम् पूर्वमन्त्री विक्रम पाण्डेले कुनै पनि हालतबाट बस्तीको बीचबाट रेलमार्ग बनाउन नदिइने प्रतिबद्धता व्यक्त गरे । नदी तटिय क्षेत्र नै रेलमार्गको लागि उपयुक्त ठाउँ हुने भन्दै उनले नेपालमा रेलको आवश्यकता नै नरहेको बताए । नेपालमा रेल र संघीयता उस्ताउस्तै भएको उनले टिप्पणी गरे । राप्रपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहेको पाण्डेले महानगरको बीचबाट रेलमार्ग लगेर ठूलो भौतिक संरचनामा क्षति हुन नदिइने बताए ।
रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुसालले चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले पठाएको प्रतिबद्धता पत्र पढेर सुनाए । विशेष कारणवश जनसभामा सहभागी हुन नसकेको भन्दै संघर्ष समिति र स्थानीयको मागप्रति पूर्ण समर्थन रहेको कुरा उक्त पत्रमा उल्लेख छ । घनाबस्तीको बीचबाट रेलमार्ग बनाउन नदिइने र रेलमार्गको लागि विकल्प खोज्नुपर्ने लामिछानेले उल्लेख गरेका छन् ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी र चितवन क्षेत्र नं ३ (क)का सांसद ज्ञानजंग लामाले घनाबस्तीको बीचबाट रेलमार्ग बनाउन नदिन जनप्रतिनिधिहरु रेल विभागमा डेलिगेशन जाने बताए । भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले र भरतपुर ८ का वडाध्यक्ष जीवनाथ कँडेलले घनाबस्तीको बीचबाट रेलमार्ग लैजान सहमति नदिने बताए । जबरजस्ती गरिए रेलमार्गको लागि गाडेको किला उखेल्न आफै जाने चेतावनी पनि दिए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमालेका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कृष्णप्रसाद भुसाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णराज न्यौपाने लगायतले कार्यक्रममा सहभागी भएर रेलमार्गको लागि वैकल्पिक मार्ग खोज्नुपर्ने बताए ।
भरतपुर महानगरको वडा नं ८, ७, ५, ४ र १६ नम्बर वडाको घनाबस्तीको बीचबाट रेलमार्ग लैजान लागिएको भन्दै स्थानीयहरु केहि दिनदेखि आन्दोलित भएका छन् ।












