चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले प्रस्तावित रेलमार्ग पीडित संघर्ष समितिको मागप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।
लामिछानेले आज प्रेस विज्ञप्ति जारी गरी संघर्ष समितिले भोलि आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन नसकेकोमा क्षमा समेत मागेका छन् ।
‘हामी विकास विरोधी हुँदै होइन तर सरकारले यसबाट त्यस क्षेत्रका बासिन्दालाई पर्न सक्ने असरबारे एकपटक पनि नसोचेकाले आज जनताले सडकमा निस्केर सरकारको ध्यानाकर्षण गर्नुपरेको छ । यो एकदमै दुःखको कुरा हो । फेरि एकपटक सरकार आफ्नो अभिभावकिय जिम्मेवारीमा चुकेको छ’, लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रस्तावित रेलमार्गको विकल्प खोजिनुपर्ने भन्दै उनले आफ्नो तर्फबाट गर्नुपर्ने र गर्न सक्ने सबै काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
भरतपुर महानगरको घनाबस्तीको बीचबाट रेलमार्ग लैजान लागेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । भरतपुर ८, ७, ४, ५ र १६ नम्बर वडाको घनाबस्तीबाट रेलमार्ग निकाल्न लागिएपछि स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन थालेका छन् । स्थानीयहरुले पनि वैकल्पिक रेलमार्गको उपाय खोज्न आग्रह गरेका छन् ।












