काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्न नहुने बताएका छन्।
शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा आयोजना गरेको ३०२औँ पृथ्वी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताए।
उनले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताए।
सभापति लामिछानेले राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने र राजनीतिभन्दा माथि राख्नुपर्नेमा जोड दिए।











