चितवन । भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ लगाइने भएको छ ।
भरतपुर महानगरपालिकाले बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल आँपटारीलाई नौ सय लिटर रातो र सेतो रंग हस्तान्तरण गरेको छ। रंग खरिदका लागि रु ५ लाख ९९ हजार ४ सय खर्च भएको महानगरले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख शशी पाण्डेलाई संयुक्त रुपमा रंग हस्तान्तरण गरेका थिए।
महानगरपालिकाले दिएको रंगलाई सशस्त्र प्रहरीले सामाजिक उतरदायित्व अन्तर्गत रंग लगाउने कार्य गर्ने छ । करिब एक महिनाभित्र यो सडकमा रंग लगाउने काम सकिने छ ।
प्रमुख दाहालले भरतपुर सहरको सौन्दर्याकरणका लागि देवघाट जाने सडकको दायाँ बायाँ रङ रोगन गर्न लागिएको बताइन्।
विकास र समृद्धिको यात्रामा भरतपुरले फड्को मारेको र आशा लाग्दो ढङ्गबाट विकास र पूर्वाधारका दृष्टिले उत्कृष्ट महानगरका रुपमा अगाडि लम्किएको दाहालले उल्लेख गरिन्।
महानगरपालिकालाई हरियाली, सरसफाईयुक्त र उज्जयालो सहर निर्माण गर्ने काम अनरुप पहिलो चरणको स्मार्ट लाईट जडान गर्ने कार्य भई दोस्रो चरणको स्मार्ट लाईट जडानको कार्य अघि बढ्न लागेको उनले जानकारी दिइन्।
महानगरले चोक सुधार कार्यक्रम, सडकहरुलाई मार्किङ गर्ने, चौतार मर्मत सम्भार, आवश्यक पूर्वाधार थप गर्ने लक्ष्य राखेको दाहालको भनाई छ ।
महानरपालिकाले भरतपुरमा निर्माण भईसकेका सडकलाई हरियाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत वृक्षरोपण कार्यलाई पनि प्राथामिकताको साथ अगाडि बढाईरहेको छ ।












