काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासलाई गति दिन सरकारको ध्यान मेगा प्रोजेक्टमा केन्द्रित गरिएको बताएका छन्।
१६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र गतिशील बनाउनका लागि ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताए।
‘चाहे कर्णाली चिसापानी १० हजार ८ सय मेगावाट क्षमताको जलविद्युत परियोजना अगाडि बढाउनेबारे मन्त्रिपरिषदबाट निर्णय गरेर एसियाली विकास बैंक (एडिबी) को सहयोगमा अध्ययन प्रक्रिया अन्तिम रुप दिने कोसिस भएको कुरा होस्, प्रचण्डले भने, ‘ अथवा अन्य पूर्वाधार निर्माणका कुरा होस् वा ठूला ठूला प्रशारण लाइन निर्माणका कुरा होस्। यी सबै मेगा प्रोजेक्टबाट देशको अर्थतन्त्रलाई गति दिन सकिन्छ भन्ने विश्वासका साथ काम भइरहेको छ।’
उनले चार सय केभीका ३ वटा प्रशारण लाइन छिट्टै सम्पन्न गर्ने प्रक्रियामा रहेको पनि बताए।
आफूले विकास निर्माणका आयोजनामा किन विलम्ब भएका छन्, के कारणले रोकिएका छन् भनेर एक्सन रुमबाट र फिल्डमै गएर अनुगमन गर्न सुरु गरेको पनि उनले बताए।
विकास र इन्जिनियर एक अर्काका परिपूरक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले उनीहरूको भूमिका प्रोत्साहन गर्न व्यवस्थापन तथा सुरक्षाको चिन्ता सम्बोधन गर्न तयार रहेको पनि बताए।












