काठमाडौं। नेपाली कांग्रेसका सभापति सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताएका छन्।
सोमबार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्रको प्रतिष्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिए।
उनले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए। सभापति देउवाले एकअर्काप्रति कडा प्रतिष्पर्धाका बीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताए।
उनले भने, ‘अब अहिलेको बेलामा अत्यन्तै आवश्यकता छ । सानो देश हो यो । हाम्रो देशमा आफ्ना मतभेदहरु, पार्टीगत वैचारिक मतभेद, पार्टीका प्रतिष्पर्धाहरुदेखि लिएर हाम्रा आफ्ना कुरा छन्। नेपालमा एकअर्काप्रति कडा प्रतिष्पर्धा हुन्छ, त्यसका बाबजुत पनि बोलीचाली, मेलमिलापको वातावरण छ, यो धेरै कम देशमा छ। लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिष्पर्धी अझ राम्रो लोकतन्त्र हो। लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो। यसको विकल्प छैन। लोकतन्त्र र गणतन्त्रको विकल्प अझ राम्रो गर्नु हो। कसैले पनि यसको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ।’
सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए।












