काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका छन्।
सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसर पारेर गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष डा.भट्टराईले सरकारलाई पाँचै वर्ष चलाउनका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउनुपर्ने बताए।
उनले आपसमा भागबण्डा गरेर सरकार नबनाई एउटा सर्वमान्य व्यक्तिको नेतृत्वमा पाँचै वर्ष सरकार चलाउन सकिने बताए। उनले त्यसो गर्न नसकेमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए।
पूर्ण समानुपातिक प्रणालीमा जसले जति मत ल्याउँछ सोहीबमोजिम सरकारमा बस्ने मोडेल बनाउन सकिने उनको भनाइ छ। उनले शान्ति प्रक्रियाको काम सम्पन्न गर्न संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु सहमतिमा छिटो टुंग्याउनुपर्ने बताए।
उनले भने, ‘हामी सबै जुन प्रमुख दलहरु छन्। प्रमुख दलहरुको संयुक्त सरकार बनाऔँ। पाचै वर्ष चल्ने गरौँ। किन भागबन्डा गर्नु परेको छरु एउटा कोही मान्य मान्छे होस्। उसको नेतृत्वमा पाँचै वर्ष सरकार चलाऔँ न।’
अध्यक्ष भट्टराईले भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर लगानी भित्र्याउनुपर्ने बताए।
उनले नेपाललाई शान्ति क्षेत्रको रुपमा अगाडी बढाउने प्रस्ताव पनि गरे। उनले देशको विकास गर्नका लागि अधिकार सम्पन्न राष्ट्रिय विकास प्राधिकरण बनाएर काम गर्नुपर्ने धारणा राखे। सो विकास प्राधिकरणले बनाएको नीतिअनुरूप सरकारले काम गर्नुपर्ने भन्दै उनले यस्ता विषयहरुमा सबै राजनीतिक दलहरुक बिचमा सहमति खोज्नुपर्ने बताए।












