काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीको गल्ती भएको बताएका छन्।
शनिबार मजदुरहरूको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय सम्मेलन कार्यक्रममा प्रचण्डले बालकुमारी घटनाप्रति सरकार संवेदनशील बनेका र गोली हान्ने आदेश दिने प्रहरी अधिकारी र घटनाको विषय परिस्थिति अड्कल गर्न नसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओलाई पनि निलम्बन गरिसकेको बताए।
उनले भने, ‘हिजो घटना हुँदा म दोलखामा थिएँ। आज बिहान मात्रै बालुवाटारमा सम्बन्धित पक्षहरूलाई बोलाएर बुझ्ने काम भएको छ। राजनीतिक कदम पनि चालिसकिएको छ। मन्त्रीको पिएसओलाई निलम्बन गरिएको छ। गोली चलाउने अधिकारीलाई पनि निलम्बन गरिएको छ।’
त्यस्तै, मृतकका परिवारबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको पनि उनले जानकारी दिए।










