काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ पक्षले माओवादी केन्द्रसँग एकता गर्न भट्टराईमाथि दबाब बढाएका हुन् ।
नेसपा केन्द्रीय समिति बैठक मङ्सिर ६ र ७ गते बस्ने तयारी छ । यस बैठकबाट पार्टी एकताको टुङ्गो लगाउन यादव र श्रेष्ठ पक्षले बाबुरामलाई आग्रह गरेका छन् ।
एकता प्रक्रियामा नगए पार्टी फुटाउने यादव र श्रेष्ठ पक्षले चेतावनी दिने गरेको दाबी नेसपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले गरे । अब पार्टी एकताको अन्तिम निर्णय औपचारिक बैठकबाटै हुने उनले बताए ।
पार्टीभित्र दबाब थेग्न नसकेपछि बाबुरामले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नियमित भेटघाट जारी राखेका छन्। अध्यक्ष ‘प्रचण्ड’ पार्टी एकता गर्न लचिलो भए पनि बाबुरामले पार्टीको नाम, चुनाव चिह्न, वैचारिक पक्ष र पार्टीमा आफ्नो हैसियत सुनिश्चित गर्न खोजेकाले समझदारी बन्न सकेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।