चितवन । चितवनमा ११५ वटा हात्तीका लागि एकहप्ते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबार देखि सौराहाको खोरसोरमा सञ्चालित शिविरमा ६० वटा सरकारी हात्तीको उपचार सुरु गरिएको छ ।
त्यसपछि निजी क्षेत्रका अन्य हात्तीको उपचार हुने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । हात्तीको स्वास्थ्यमा आउने विभिन्न समस्या र खोप दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले जानकारी दिए ।
शिविरमा घाउखटिराको उपचार र टिटानस, रेबिजविरुद्धको खोप दिने कार्यक्रम रहेको छ । ‘हात्तीको शरीर ठूलो भएकाले घाउ र अन्य स्वास्थ्य समस्या तत्काल नदेखिन सक्छ । शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षण गरेपछि उपचार गर्न सजिलो हुन्छ’, उनले भने ।
चितवनमा निकुञ्ज र निजी क्षेत्रका गरी ११५ वटा हात्तीको एक हप्ताभित्र उपचार गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकराी दिए । हात्तीको खुट्टाको नङ काटिदिने,घाउखटिरा हेरेर उपचार गर्ने, स्वास्थ्य अवस्था के कस्तो छ परीक्षण गर्ने, विरामी भए अलग्गै राखेर उपचार गर्ने, सरुवा रोग भए त्यसको रोकथाम गर्ने जस्तो काम शिविरमा हुने पशु चिकित्सक श्रेष्ठले बताए ।
समयमै उपचार नहुँदा चितवनका हात्तीमा घाउखटिरा प्रमुख समस्याका रुपमा देखिएको छ । पर्यटक घुमाउन प्रयोग हुने र सुरक्षाका लागि खटिने हात्ती दुवैमा घाउखटिराको समस्या देखिन थालेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । जङ्गलमा हिँड्नुपर्ने भएकाले त्यहाँ भएका तिखा काँडा, घोचालगायले खुट्टामा घाउ बनाउने, शरीरमा चोट लाग्ने समस्या छ ।
घाउचोटको समस्या समयमा नै नदेख्दा ठूलो रुप लिने भएकाले जटिल समस्या भएको पशु चिकित्सक श्रेष्ठ बताउँछन् । घाउखटिरालाई पहिचान गरेर उपचारको काम भएपनि पुनः जंगलमा जानुपर्ने भएकाले समस्या दोहोरिने उनले बताए ।
‘यसका लागि हामीले सुरक्षाका उपाय अपनाउँदै आएका छौँ । चार हजार किलोको शरीर भएकाले भार धेरै हुन्छ । हात्तीको शरीरमा लागेको घाउ निको हुन धेरै समय लाग्छ’, उनले भने, ‘हामीले यसका लागि उपचार गर्दै आएका छौँ तर पनि नियमित जंगल जानुपर्ने भएकाले समस्या निर्मुल पार्न कठिन हुने गरेको छ । चरनका लागि पनि जंगल जाने भएकाले माटो खाने समस्या अर्काे छ । माटो खाने गर्नाले अन्य खाना पच्न कठिन हुने गर्छ । पाचन प्रणालीमा समस्या आउन थालेपछि अन्य समस्या देखिन्छ ।’
शिविरमा यसको पहिचान गरेर सबै हात्तीको उपचार हुने उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।











