काठमाडौं । कांग्रेसले भूकम्पमा परेकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा ५० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ । यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न कांग्रेसले सबैमा अपील समेत गरेको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै उद्धार राहात तथा पुनस्थापनाको लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् ।
विज्ञप्तीमा भनिएको छ ‘स्वदेश तथा विदेशमा भएका सबैलाई तन, मत तथा धनको साथ खुल्ला ह्दयले मानविय सेवाको अभियानमा जुटन आग्रह गर्दछ ।’ गए राती गएको भूकम्पको कारण जाजरकोट तथा रुकुम पश्चिममा करिब १३२ को ज्यान गएको छ भने सयौँको संख्यामा घाइते भएका छन् ।











