चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनताको मन छुनेगरी अवस्था बदल्न लाग्ने बताएका छन् । आइतबार गृह जिल्ला चितवन आइपुगेका प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था उस्तै रहेको भन्दै अब अवस्था बदल्ने बताएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले भने– ‘निकै ठुलो त्याग तपस्यापछि व्यवस्था बदलियो। अब जनताको मन छुनेगरी अवस्था बदल्न लाग्नेछु। व्यवस्था बदलियो जनताको अवस्था बदल्ने हाम्रो प्रतिवद्धता छ।’
विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने उनले बताए । ‘चितवन र चितवनमार्फत् सिंगै देशमा विकासको गति दिइने छ । उत्पीडित वर्ग जाति र समुदायलाई समृद्धिको नयाँ उचाइमा लैजाने सोच छ’, उनले भने ।
जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न पार्टीका ७०० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको दाबी गरिएको छ । पार्टी प्रवेश गर्नेलाई प्रचण्डले खादा ओढाएका थिए ।
चितवनका स्थापित व्यवसायी विजय घले नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेको बताइएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नायरायण दाहाल, पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, रेनु दाहाल, ज्ञानु बस्नेत, केन्द्रीय सदस्य ईश्वरी भट्टराई, ठाकुर ढकाल लगायतको उपस्थिति रहेको थियो ।











