काठमाडौँ । आउँदो २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘परदेशी–२’ सेन्सर पास भएको छ । फिल्मलाई चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो ।
फिल्मको प्रशंसा गर्दै सेन्सर बोर्डले सबैका लागि प्रदर्शन अनुमति दिएको निर्माता राजेश वंशलले बताए । ‘सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गर्दै बिना काटछाट सेन्सर पास गरे’, बैशलले थपे, ‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो ।’
नारायण रायमाझीले निर्देशन फिल्मको सेन्सरमा निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलको धारणा छ ।
फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दीलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
गायनमा स्थापित प्रकाशको यो अभिनयमा डेब्यु फिल्म हो । गायन झैँ फिल्म अभिनयबाट पनि आफूले राम्रो चर्चा पाउने विश्वास प्रकाशले लिएका छन् ।











