काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कानुन निर्माण र जनजीविकाका सवालबारे केन्द्रित रहेर ध्यानाकर्षण गराउने भएको छ। सोमबार सकिएको केन्द्रीय समितिको बैठकले चीन भ्रमणबाट प्रधानमन्त्री दाहाल फर्किएलगत्तै डेलिगेसन गई सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
कांग्रेसले गत साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले गरेका केही निर्णय सरकारले लागु नगरेको पनि समीक्षा गरेको छ। ‘योभन्दा अघिल्लो केन्द्रीय समितिबाट सरकारसँग राखेका केही माग छन्। हामीले गराएका ध्यानाकर्षण छन्, ती कयैं कुरा पूरा भएका छैनन्,’ थापाले भने, ‘ती निर्णय लागु गर्न प्रधानमन्त्रीलाई भ्रमणबाट फर्केपछि भेटेरै आग्रह गर्ने कुरा भएको छ। सरकारसँग सम्बन्धित सुशासन, सेवा प्रवाह र राहतका विषयमा प्रधानमन्त्री र सरकारलाई ध्यानाकर्षण गराउँछौं।’
प्रदेशहरूमा मन्त्रालय थप गर्ने र संघदेखि प्रदेशसम्म सल्लाहकार राख्दा फजुल खर्च हुने गरेको निष्कर्ष कांग्रेसको छ। साथै कांग्रेसले संघ र प्रदेश सरकारका कामकारबाहीको गम्भीर समीक्षा गर्ने भएको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिलेको सरकार पनि जनताको नजरबाट आलोचनाको केन्द्रमा रहेको बताए।