काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताएका छन् ।
मंगलबार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताएका हुन् ।
उनले नेम्वाङले त्यस बेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बताए । नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उनले उल्लेख गरे । उनले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग संवाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रुपमा स्थापित भएको बताए ।
महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि बताए ।