भरतपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नयाँ भवनको आज उद्घाटन गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले नयाँ कार्यालयको उद्घाटन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट पूर्वतर्फ भरतपुर अस्पतालको अगाडिपट्टि ट्राफिक प्रहरीको नयाँ कार्यालय सञ्चालनमा आएको हो । बागमती प्रदेश सकारको तीन करोड ५३ लाख २२ हजार रुपैयाँ भवनमा ट्राफिक प्रहरीको कार्यालय निर्माण गरिएको हो ।
यसअघि ट्राफिक प्रहरी भाडाको साँघुरो घरमा बस्दै आएको थियो । नयाँ कार्यालय निर्माण भएसँगै ट्राफिक प्रहरीलाई प्रशासनिक लगायतका काम गर्न सहज हुने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडा, चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख किरण राणा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायतको उपस्थिती थियो ।











