चितवन । नेपाल सन्त समाजको आयोजनामा भदौ २३ गते शनिबार चितवनको नारायणी नदी किनारमा धार्मिक सभा हुने भएको छ । धरानमा गाई काटेर खाएको घटनाको विरोध गर्दै गोवंश रक्षार्थ नारायणी किनारस्थित गण्डकी नारायणी महाआरतीस्थलमा धर्मसभा गर्न लागेको हो ।
चितवन, नवलपुर, नवलपरासी र तनहुँका ओमकार परिवार (वैदिक, बौद्ध, जैन, शिख, किराँत र प्रकृतिपूजक)ले गोवंश रक्षार्थ नारायणी नदी किनारमा धर्मसभा आयोजना गर्न लागेको गोवंश रक्षा अभियानले बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
बेलचोक, चौविसकोठी, पोखरा बसपार्क र गैंडाकोटको भृकुटी चोकबाट विशाल र्याली निस्कने गोवंश रक्षार्थ विशाल धार्मिक सभा मूल आयोजक समितिका संयोजक टंकनाथ पौडेलले बताए । धार्मिक ¥याली नारायणी किनारमा पुगेपछि दिउँसो १२ बजेदेखि कार्यक्रम सुरु हुने उनले बताए ।
गाई काटेर सामाजिक सञ्जालमा राखेर ओमकार परिवारलाई चिडाउने काम गरिएको पौडेलले बताए । नेपालको मुलुकी अपराध संहिता २०७४ ऐनको परिच्छेद २७ पशुपंक्षीसम्बन्धि कसुरको दफा २८९ मा गाईगोरु काट्न र मार्न वा कुट्न नहुने उल्लेख छ ।
गौहत्यामा संलग्नलाई समयमै कानुनी दायरामा नल्याए सामाजिक सद्भावमा खलल पुग्ने गोवंश रक्षार्थ विशाल धार्मिकसभा प्रचारप्रसार उपसमिति–२०८० का संयोजक प्रेमनिधि भारद्धाजले बताए । गोवंशको हत्यामा संलग्नलाई कारवाही नगर्दा यस्ता घटना बारम्बार भइरहेकाले धार्मिक सभा गर्न बाध्य हुनुपरेको भारद्धाजको भनाई छ । धार्मिक सभामा एक लाख भन्दा बढी हिन्दु धर्मावलम्बी सहभागी हुने उनले बताए ।
गौमाता र लक्ष्मीको रुपमा पूजा गरिने गाईलाई काटेर केहि व्यक्तिले संविधानको नियम उल्लंधन गरेको भागवत बाचक बालकृष्ण अर्यालले बताए । विभिन्न धर्मावलम्बी मिलेर बसेको ठाउँमा यस्ता किसिमका गलत कार्य गर्नु स्विकार्य नहुने अर्यालले बताए । धार्मिक सहिष्णुता जोगाउन यस्ता गतिविधि नरोकिए पटक–पटक खबरदारीका कार्यक्रम गर्न बाध्य हुुने उनको भनाई थियो । ओमकारलाई मान्ने सम्पूर्णलाई गोवंश रक्षार्थ धार्मिक सभामा उपस्थित हुन समेत अर्यालले आग्रह गरेका छन् ।
नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षतामा हुने उक्त सभामा महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी महाराज, १००८ स्वामी रमणानन्द गिरी महाराज, आचार्य जगन्नाथ शर्मा, प्राध्यापक हरिशरण उपाध्याय, राष्ट्रिय संगठन सचिव जनजाती कल्याण आश्रमका प्रेम थुलुङ, केन्द्रिय सदस्य लालबहादुर चौधरी, बौद्ध धर्मका बौद्धिक व्यक्ति मोहन लामा रुम्बा लगायत सहभागी हुने आयोजकले जनाएको छ ।











