चितवन । नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित चितवनका १८ जना नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको छ । आफुले गरेका गल्तिप्रति आत्मालोचित भई २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले उनीहरुको कारबाही फुकुवा गरेको हो ।
२०७९ मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नं ३ मा कोइरालाले गठबन्धनका आधिकारीक उम्मेदवार डा भोजराज अधिकारीविरुद्ध उम्मेदवारी दिएका थिए । कोइरालालाई अन्य नेता कार्यकर्ताले पनि सघाएको भन्दै कांग्रेसले कोइरालासहितलाई निलम्बन गरेको थियो ।
कारबाही फुकुवा हुनेहरुमा कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा, महासमिति सदस्य मिना खरेल, धनबहादुर गुरुङ, राजेन्द्र प्रसाद बुर्लाकोटी, पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्व जिल्ला अध्यक्ष शम्भु अर्याल लगायत रहेका छन् ।











