चितवन । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर पारेर शनिबार चितवनमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विदेश जाने र विदेशमा रहेको सम्पूर्ण युवाहरुलाई आफ्नो सीप र क्षमता राष्ट्रको विकासमा खर्चिन अनुरोध गरेका हुन्।
‘विस्तारै देशले नयाँ गति लिँदै छ । देशभित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देशभित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु,’उनले भेन। श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको उनले बताए।
‘हिजो मात्रै सिंहदरबारमा ठुलो भेला गराएर छलफल गराएको थिएँ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ,’उनले भने ‘यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । सम्पूर्ण युवा लागे नेपालले आउने दिनहरुमा कोल्टे फेर्ने विश्वास छ।’ कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको उनले बताए ।
उनले देशभित्र युवालाई रोक्न चुनौती रहेको भन्दै उपयुक्त रोजगारीका लागि सरकार लागिपरेको बताए। नेपालको कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत छलफल भएको उनले जानकारी दिए। ‘नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढ्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग भारत भ्रमणका क्रममा कुरा भएको छ । त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ’, उनले भने। कृषिको विकासका लागि मल कारखाना समेत खोल्ने तयारीमा रहेको दाहालले बताए।
नेपालले बंगलादेशसंग विद्युत व्यापारको सम्झौता गरेको उनले बताए। भारतको भूमि हुँदै नेपालको विद्युत बंगलादेश पठाउने सहमति भएको उनले खुलासा गरे। यसको घोषणा छिट्टै काठमाण्डौँमा गर्ने तयारी रहेको उनले बताए। कर्णालीको चिसापानी र बुढीगण्डकी विद्युत अयोजना छिट्टै अगाडि बढाउने उनले बताए। छिट्टै चीन सरकारसँग पनि विद्युत व्यापारको विषयमा छलफल गरिने उनले बताए।
‘म छिट्टै चीन भ्रमणमा जाँदै छु । रसुवा नाकाबाट क्रस विद्युत मिटर लाईनको प्रस्ताव अगाडि बढाउँछु,’ उनले भने ‘यसले यता उत्पादन बढी हुँदा निर्यात गर्ने र कमी हुँदा आयात गर्न सहज हुनेछ ।’ चीन भ्रमण पशुपालनसँगै भौतिक पूर्वाधारको विकासमा बढी केन्द्रित हुने उनले बताए।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महागनरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रमा युवाहरुलाई जोड्दै अगाडि बढेको उल्लेख गरे । प्रमुख दाहालले युवाले नै देशको हरेक क्षेत्रमा हुने क्रान्ति सफल पार्न सक्ने बताए। महानगरपालिकाले युवासँग उद्यम कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको उनले जानकारी दिए।
दिवसको अवसरमा ५ किमी दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । कार्यक्रमका विभिन्न विधिका सफल ६ जना कृषकहरुलाई सम्मान पनि गरिएको थियो । भरतपुर महानगरपालिका युवा दिवसको अवसरमा सप्तहाव्यपी रुपमा कार्यक्रमहरु गरेको थियो ।











