–सुनिता सुवेदी
चितवन । नेपाल–भारत सिमानाकाबाट दैनिक दुई देखि तीन ट्रक भारतीय फूलका विरुवा भित्रिने गरेको फ्लोरिकल्चर एशोसिएसन नेपालका केन्द्रिय अध्यक्ष मिन बहादुर तामाङले बताएका छन् ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) जिल्ला समिती चितवनको चौथो साधारण सभा तथा अधिवेशनको कार्यक्रममा बोल्दै उनले गैरकानुनी रुपमा भित्रिएका फूलले नेपालीको व्यवसाय धरासायी भएका बताए।
‘कोरोना कालमा क्वारेन्टाइनले कडा रुपमा चेक जाँच गरेको भए फूलमा रोग भित्रिदैनथ्यो,’ उनले भने, ‘नेपालमा पुष्पजन्य वस्तुको आयात गर्दा प्रक्रिया पुगेकालाई मात्रै आउन दिनुपर्छ ।’
आफूहरु पुष्प व्यवसायमा लगानी गर्न बैङ्कको जागिर छाडेरै लाग्दापनि लगानी गर्ने वातावरण नभएको उनले गुनासो गरे । उनका अनुसार नेपालमा वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने गरेको छ।
‘हाम्रो उत्पादनलाई सुरक्षित गर्न भन्सार महसुल बढाउनुपर्नेमा सरकारले भ्याट लगाउँछ,’ उनले भने, ‘लगानी गर्ने वातावरण नहुँदा सस्तोमा भारतबाट आइदिन्छ जसको कारण हाम्रो उत्पादन टुकुचा खोलामा बगाइदिनु पर्ने अवस्था आएको छ।’
मौसममा फुलेको नेपाली फूलपनि फाल्नुपर्ने अवस्था आएको उनको भनाई छ । दुई/तीन वटा नाकाबाट मात्र राम्रोसँग क्वारेन्टाइन गरेर पुष्पजन्य वस्तु आयात गर्न दिनुपर्ने उनले बताए ।
त्यस्तै अधिवेशनलाई सम्बोधन गर्दै पुष्प विकास केन्द्र, ललितपुरका अध्यक्ष सुधिर श्रेष्ठले पुष्पजन्य वस्तुको कतिपय समस्या व्यवसायी संगठित भएपछि समाधान हुन सक्ने बताउँछन् । बागमती प्रदेशमा सबैभन्दा धेरै पुष्प व्यवसायी रहेको भन्दै उनले यस वर्ष बागमती प्रदेशलाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । त्यसको लागि कार्यविधि बनाउने काम भइरहेको उनले जानकारी दिए ।
‘कानुनमा सूचीकृत भएका फूलका वीउ विजनमात्रै आयात गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, पुष्पका सयौँ जात हुन्छन्, सूचीकृत गर्न कठिन हुन्छ। यो वर्ष आएको जात अर्को वर्ष हराइसक्ने भएकाले सूचीकृत नगर्न दबाव दिएपनि कार्यान्वयन भएन।’
तीन वर्षसम्म परीक्षण पछि मात्रै सूचीकृत गर्ने बाध्यात्मक परिस्थिती भने हटेको उनले बताए । गतवर्ष भारतीय फूलमा प्रतिवन्ध लगाउँदा सकारात्मक प्रभाव देखिएको उनी बताउँछन् ।
नेपालमा हाल ४८ जिल्लामा पुष्प व्यवसाय भइरहेको छ भने फ्यानको शाखा सात वटा जिल्लामा मात्रै रहेका छन् ।











